katha

कथा

अतितभित्र डुब्दा,,,

सुबोध आज धेरै भावुक देखिन्छ। उसका अनुहारमा असार साउनमा लाग्ने कुहिरो झैं अँध्यारो निशापट्ट देखिन्छ।लाग्छ केही दिलभित्र तनावहरुले उसलाई एकोहोरो आक्रमण गरेको देखिन्छ। भारी शरिर परदेशको एउटा कोठा अनी एक्लो ज्यान धेरै मुस्किल सँग लड्नुपर्ने। उसको नजर टेबलमा स्थिर डिजिटल फ्रेममा पुग्छ। गएको उसको बर्थडेमा कम्पनीको तर्फबाट गिफ्टको रुपमा पाएको उसले, त्यो फ्रेम भरी उसले आफ्ना तस्बिरहरु सबै स्क्यान गरी हालेको थियो। राख्न पनि ५ गिगाबाईट मेमोरी भरि लादेर राखेको रहेछ। अल्छि मान्दै स्विच अन गर्छ। डिजिटल फ्रेम बिस्तारै आफ्नो कार्य गर्न शुरु हुन्छ। फोटोहरु एकपछि अर्को हुँदै पल्टिदै जान्छन, सुबोध एक टकले हेरीरहन्छ। ति फोटोको साथसाथै उसका बिगतहरु पल्टिदै जान्छन सरररर,,,,,,, बाल्यकाल देखीको तस्बिरका संग्रहरु उफ्फ्फ्फ्फ कति हाँसो उठ्दो अनी रमाईलो बालापना,,,,,, यसरी पल्टिदै पल्टिदै जादा सुलोचना उसको स्कुले जीबन र मायाबी साथी उनले स्कुलमा आयोजना गरिएको कबिता प्रतियोगितामा प्रथम भएर पुरष्कृत हुँदै गर्दा खिचिएको तस्बिर पनि आईपुग्छ,,,, सुलोचना हँसिली अनी अबीरद्वारा रंगीन बनेकी त्यो मौका सुबोधले पनि अबीर दलेर उनको बिजयको खुशी मनाएको थियो। ८ कक्षाको त्यो प्रतिस्पर्धी सुलोचनाको कबिता याद आयो केही लहरहरु:

म मृत सागरमा डुबेर गए
तस्बिर मेरो बाँचीरहन्छ
तिमी किन रुन्छौ म नहुँदा
तिम्रै सामु मेरो तस्बिर हाँसीरहन्छ।
सँगाल अँगाल ओसिलो त्यो छाती भरी,
म तस्बिर भएँ त के भयो
तिमीलाई म त्यहाँ कुरेर बस्नेछु
जहाँ संसार त्यागेर मलाई भेट्न आउनेछौ
धर्तीसँग हार भएर आँशु पुछ्दै पुछ्दै
लामो लडाईंको थकान मेट्न आउनेछौ
तब म अँगाल्ने छु, सम्हाल्ने छु
मेरो बाहु बन्धनमा समेटेर
तिम्रा दुख पिंडा पखाल्नेछु
त्यसैले मेरो तस्बिर हेरेर
कहिल्यै तिमी नरुनु,
पिएर सबै आँशुका थोपाहरु
हेरेर मेरा पाईलाका डोबहरु
म अघी भएँ त के भो?
तिमीलाई कुरेर बस्नेछु अनन्त सम्म।
मेरो आत्माको दियोको एक झुल्का सम्म
अनन्त अनन्त तिम्रै पर्खाईमा।

सुबोध फेरी सुलोचनाको यादमा पौडिन्छ। सुलोचना आफ्नो जीबनको मुल्य चुकाउन नसकेर जीबनलाई बन्धकी राखी सदा सदाको लागी ब्लड क्यान्सरको उपहार लिएर धर्ती र सुबोध सँग अन्तिम पटक हांस्दै हाँस्दै बिदा लिएकी थिईन। हुरहुरे बैंशमा जीबनको अध्याय समापन हुनु कसैलाई पाच्य हुन्न, क्षेत्र प्रताप अधिकारी ज्युको एउटा गीत सम्झना आउँछ "संसार मा जन्म दिएर ईस्वर बैँशमा नमार,,,,,," साँच्चीकै यो गीत भित्र पनि शायद त्यही लुकेको होला कहीं सुलोचनाको जिबन जस्तै,,,,,। सुबोध फेरी तस्बिर नियाल्न पुग्छ सुलोचना र ऊ मिलेर खिचेका ति अबिष्मरणिय क्षणहरुको संगालो त्यो गुराँसे डाँडा, अनी त्यहाँ फुलेका ढकमक्क लालीगुराँस, चैतको महिना अनी उराठलाग्दो मौसममा पनि कोईलीको कुहु कुहु अनी न्याउलीको बिरही भाखा, काफल पाक्यो-काफल पाक्यो भन्दै जिस्काउने चराचुरुङ्गी साल सिसौं सेताम्मे फुलेर बशन्तको पर्खाई बिच एक जोडी प्राणी आफ्नो प्रेमालाप गर्दै बसेका तस्बिर, त्यती बेला सुलोचनाले भनेकी थिईन : सुबोध जीबन कहाँ हामीले देखे जस्तो होला है, म तपाईलाई हृदयदेखी चाहन्छु तर कहिले होला त्यो दिन तपाई र म सदा सदाको लागी बैबाहिक बन्धन मा बाँधिने??? यस्ता प्रश्नहरुको जवाफ सुबोध सहज रुपमा दिन्थ्यो अब हाम्रो पढाइ सकाउनु पर्छ अनी त हामी सदा सदाको लागी नि पग्ली भन्दै सम्झाउथ्यो। त्यो सम्झेर सुबोध आजपनि फेरी बिगतमै चुर्लुम्म डुबुल्की मारीरहेको थियो, यतीकै मा साथीको रूम बाट कानै फुट्ने गरी उफर घन्किन्छ उफरमा घन्की रहेको हुन्छ,,,,,,, "कतै शित पर्यो् की,,,, फूल माथी आज,, कतै मन दुख्यो की???? दिल माथी आज,,,,,,," उ मनमनै सोंच्छ शायद यी गीतकारले भोगेरै लेखेका हुन्छन की कसो??? यसरी यथार्थमा फर्किन्छ, छातीभरी जलन पाउँछ|
उ गुनगुन गर्छ,,,,,

किन खस्छन ब्यर्थै यी आँशुहरु??
ए! बिगत तिमी किन थाप्छौ,,
कुईनेउटामा छेकी छेकी पासोहरु??
म जिउँदो अवशान अनी
रिक्त रिक्त जिजिबिषाभित्र
कोपिलामै ओईलएको त्यो त्यो फूलको
मधुपान गर्ने मधुमास हुँ,
न झङ्कृत छन पञ्चेबाजाहरु।।
न म सँग टाँसिएका छन,
जीबनका परिभाषाहरु??
म केवल एउटा मृत्युको नगरबाट
उम्किएर अर्को म्रुत्युकै नगरमा बास लिएको
त्यो एकमुट्ठी स्वास हुँ,,
त्यसैले पल पल मलाई नतड्पाउ
मेरो बिगत हिंजो म जो थिएँ
त्यसैको सम्झनाहरु पिई रमाईरहेको छु।

सुबोध यसरी अतितभित्र रुमल्लिएर त्यहीँ बिगतका तलाउभरि पौडीन्छ अचानक भित्त्ते घढीको टङटङ द्वारा झस्किन्छ, साँझ पर्न थालेछ साथीका हुलहरु कम्पनीको गाडीद्वारा आएको देख्छ अनी सम्हालिन्छ|

बि. जे. बान्तवा राई
अप्रील २८, २०१०

2 comments:

  1. so sweet story.al the best for coming ur progress.Rajani rai bhojpur

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin