katha

कथा

अरबको तातो हावा अनि "भिम प्रसाद र हृदयघात" (वियोगवादी कथा)

"एइ! साइला एउटा कुरा थाहा पायौ? मोरो! पागलप्रेमी रामेले, अचम्म गरे छ नि" गणेश नारायण उपाध्यायले उसको माथिल्लो घरको भण्डारी साइलालाई सुनाए l ए होर! बिचरा कठै! के गरे! रामेले? भण्डारी साइलाले सहानुभूतिका साथ उत्सुकता देखाए l पागलप्रेमी रामेले बिहे भएर अर्काको घर गईसकेकी, उसकी प्रेमिका संजना माइती आएकी बखत दुवै जना टाप कसेछन्, अगतिहरु!! गणेश नारायणले क्रोधपूर्ण आबेश पनि मिसायो l

रामेको उमेर यस्तै २० बर्ष जतिको थियो, खास नाम रामेश्वर थियो, छोटकरीमा सबै रामे भन्ने गर्दथे l रामे, सानोमा एक असल, गम्भीर स्वभाबको थियो, स्कुलको पढाईमा पनि राम्रै थियो, ऊ ९ बर्षको हुदा मात्र स्कुल जान थालेको थियो l ऊ, प्रत्येक कक्षामा दोस्रो, तेस्रो स्थान ल्याउने गर्थ्यो, ७ कक्षामा भर्ना हुदा संजना पनि पढ्न त्यही स्कुलमा पढ्न आएकी थिइन् l संजना पनि गोरी, बाटुलो अनुहार सुन्दर थिइन्, स्कुलमा सबैको आँखाको तारो भएकी थिइन् l रामे पढाईमा तेज भएको कारण संजनाले पहिलो पटक हिसाब सिकी माग्न, ऊ संग कक्षा कोठामा टिफिनको समय बोलेकी थिइन् l यस क्रमसंगै रामे र संजनाको मित्रता बढ्दै गयो, संजना पढाईमा अलि कम्जोर थिइन् l तिनलाई नआएको कुनै पनि किताबको कुरा रामेले फुर्सदमा सिकाउथ्यो l उनीहरु बीचको यो मित्रता बिस्तारै झागीन्दै थाहा नपाई माया प्रेममा परिणत हुदै गएको थियो l स्कुलमा एक दिन संजना नआउदा रामेलाई के नभएको जस्तो अपुरो आभाष हुन्थ्यो l उता संजनालाई पनि यस्तै अनुभब हुन्थ्यो l अब उनीहरु बीच स्कुलको टिफिन समयमा पढाईको साथ साथै अन्य कुराहरु पनि छलफल गर्थे, स्कुल छुट्टी भए पछि आ-आफ्नो घर फर्कन हतार हुन्थ्यो l एक त उनीहरुको घर पनि स्कुल देखि निकै टाढा थियो साथै उनीहरुको गाँउ फरक फरक थियो l
यसरी नै ७ कक्षा पास गरे दुवै जनाले र ८ कक्षामा भर्ना भए, अझ राम्ररी पढ्नु थियो l एक दिन रामेले संजनाको नोट बुकमा "आइ लभ यु" लेखेर सानो चिट राखी दियो l आखिर, रामे पनि १६ बर्षको टीन एजको कुरकुरे बैस चढ्दै थियो, यो उमेर नै यस्तै हो l भोलिपल्ट संजना स्कुल आईनन्, रामेको मुटुमा ढ्यांग्रो ठोकियो, पक्कै पनि संजना रिसाइन् होलिन् भन्ने सोच्यो l उसलाई रातभरी निन्द्रा लागेन, कतिखेर बिहान होला र स्कुल जाउला, आज त पक्कै संजना स्कुल आउलिन भन्ने आशा थियो l नभन्दै संजना स्कुल आइन्, रामे खुशीले गद्गद् भए, तर मनको कुरा भन्न भ्याएको थिएन आखिर स्कुलको टिफिनको समय सम्म कुर्न पनि उसलाई गाह्रो भैरहेको थियो l बल्ल बल्ल टिफिन भयो अनि रामेले संजनालाई बोलाएर स्कुलको खेल मैदानको छेउमा बसे l उनीहरु एक अर्कालाई माया गरेर संजु र रामु भन्थे, अनि भएभरको आँट निकालेर "आई लभ यु, संजु" रामेले भन्यो, संजनाले पनि स्वीकारोक्ति मुण्टो हल्लाइन्, "म पनि तिमीलाई माया गर्छु तर रामु ! मलाई मेरो परिवार देखि डर लागेको छ, हाम्रो जात पनि मिल्दैन, फेरी मेरा बाबा, आमा जातियतामा कट्टर छन" संजनाले एकै सासमा यति कुरा भन्न भ्याइन् l संजना बाहुन जात कि थिइन् तर रामे चाही राई किराँत थियो l
म तिमीलाई असाध्यै माया गर्छु, म तिमी बिनाको जीवन कल्पना पनि गर्न सक्दिन, म तिम्रो हाम्रो लागि सबथोक त्याग गर्न तयार छु l "यो संसारमा मानिसको मात्र दुइ जात हुन्छ, छोरा मान्छे अनि छोरी मान्छे" सामाजिक शिक्षा पढाउने सरले भन्ने गरेको कुरा रामेलाई कन्ठै थियो, यहि कुरा शिरोधर गर्दै उसले संजनालाई आस्वस्त पार्न खोज्यो l त्यो दिन निकै बेर दुवै जना कुरा गरी रहे, जे भए पनि एक अर्काको साथ नछोडने प्रण गरे l
अब संजना र रामेको टिफिनको दिन चर्या सधै माया प्रितीका कुरा गरेर बित्न थाल्यो, टिफिन भयो कि उनीहरु भिन्नै संसारमा पुग्थे, कल्पनामा चुर्लुम्म डुबेर बस्थे l यस्तै कक्षा ८ पनि पास गरेर ९ कक्षामा दुवै जना भर्ना भए, पढाई रामेको ठिकै थियो तर संजना मुस्किलले पास भएकी थिइन् l रामे र संजना बीचको माया प्रेम गाइ गुइ एक कान दुइ कान हुदै स्कुलमा फैलिंदै थियो l उता संजनाका बुवा आमाले यो कुरा थाहा पाए, अब संजना पारिवारीक चेपमा परिन्, एक त भर्खर १५ बर्ष पुगेकी थिइन् l त्यो माथि छोरीले राई जातको बिहेवारी नचल्ने संग सम्बन्ध गासिएको थाहा पाएर रिसले आगो भए l अब संजना कहिले कहिँ मात्र स्कुल आउने गर्न थालिन्, घरमा संजनालाई त्यो रामेलाई जसरी भए पनि छोड्नु भन्ने दबाब थियो l यता रामे झन् झन् संजना प्रति मरिहत्ते गर्दै थियो, माया र प्रेम बढिरहेको थियो l यसै बीच उनीहरुले एक दिन शनिबार गाँउ भन्दा निकै टाढाको मन्दिरमा घन्टौ बसेर मन्दिर कि देवीलाई साक्षी राखेर कहिले नछुट्ने कसम खाए l उनीहरु बीचको प्रेममा निस्वार्थ, निश्चल प्रेम समर्पण थियो, त्यसमा कुनै वासना यौनको गन्ध थिएन l प्रेमलिप्त, यो जोडी समय मिल्यो कि अनकन्टार कल्पनामा हराउथे, उनीहरुलाई कसैले छुटाउन खोजे यो संसारसंगै छोड्ने बाचा पनि गरेका थिए l
यस पटक संजना पास हुन सकिनन्, खाली रामे मात्र पास भएर १० कक्षामा पुग्यो l संजना निकै दु:खी भइन्, रामेले ढाडस दियो अर्को साल पास भई हाल्छ नी भनेर l उनीहरुको कक्षामा भेट नभए पनि टिफिनमा भेट हुन्थ्यो, मिठा मिठा माया, प्रेमका कुरा गरी ४५ मिनेटको त्यो समय संगै बिताउथे l रामेले टेष्ट पास गरेर एस.एल.सी. पनि दियो, संजनाले ९ कक्षा पास गरिन्, उनीहरुको प्रेम झन् झागीन्दै परिपक्क हुदै थियो l अनि रामेले एस.एल.सी. सेकेन्ड डिभिजनमा पास गरे अनि गाँउ भन्दा धेरै टाढा सहरमा क्याम्पस पढ्न जाने भए l रामेलाई नरमाइलो लागेको थियो, संजनालाई छोड्ने मन नै थिएन, यता संजना पनि उस्तै बिछोड हुने डरले चिन्तित थिइन् l आखिर एक दिन रामे क्याम्पस पढ्न जानु नै थियो, आफ्नो प्राण प्यारी संजनालाई छोडेर जाने भए, सहरबाट चिठी पठाउने बाचा गर्दै, दिन भरी एक अर्काको अंगालोमा बाधिएर रोएका थिए l

रामे पढ्न सहर गए पछि संजनाको यादले धेरै गाह्रो भयो, उसले हप्ते पिच्छे एउटा चिठी लेख्न थाल्यो, उसका माया,प्रेमले भरिपूर्ण चिठी पढ्न पाउदा संजना पनि गद्गद् हुन्थिन l संजना पनि चिठीको जबाफ पठाउदै थिइन्, पछि संजनाका बुवा आमाले हुलाकी अन्तरे काजीलाई मेरी छोरी संजनाको कुनै पनि चिठी छोरीलाई नदिइ, हामीलाई बुझाउनु भनेछन् l रामेले पठाएका चिठी संजनाका बाबा आमाले हुलाकी अन्तरे काजी मार्फत पढे पछि छाँगाबाट खसे जस्तो भएछन् l अब छोरीले नाक काट्ने भई भनेर एक १ महिना भित्र अपर्झट संजनाको जबर्जस्ति बिबाह निकै टाढाको एक बाहुनसंग गराई दिए l यो बिबाह यति गोप्य तय भयो कि संजनालाई बिहेको ३ दिन अगाडी मात्र थाहा भयो र त्यो ३ दिनमा तिनी आफ्नै घरमा नजरबन्द थिइन् l तिनले रोएर, आफ्नो मनको कुरा जति गरे पनि, रामे बाहेक अरु संग बिहे नगर्ने, रामेसंग मन्दिरमा खाएको कसम सुनाउदा पनि तिनका बाबा, आमा टसमस भएनन् l
संजनाको जबर्जस्ति बिहे भएको कुरा सुनेर रामे तुरन्त सहरबाट घर फर्के, उनी निराश भए, उसका बाबा,आमाले पनि उल्टै गालि गरे, बाहुन कि छोरीलाई किन ताकेको? के आफ्नै जात मिल्ने केटी पाइनस्, यो पाजी! हेर! यसको कुबुद्धि! यस्तै यस्तै गालि मात्र पाए रामेले, कोहि ढाडस दिने साथी भाइ भएनन् l अब रामेको लागि आकाश भासिएको भान भयो, ऊ संजनाको सम्झनामा रक्सी पिउन थाल्यो, अर्धनिन्द्रामा पनि संजु,संजु भनेर बर्बराउन थालेको थियो l
ऊ, संजनाको बिहे भएको गाउँ सम्म गयो, तापनि पनि संजुलाई भेट्ने अनुकुलता मिलेन l नचिनेको कोहो? तन्नेरी पागल गाउँमा आएको छ भनेर उल्टै त्यहाका मानिसहरुले छि! छि! दुर! दुर गरे रामेलाई l उता संजना पनि यति तड्पीएकी थिइन् तर तिनको श्रीमान एक छिन पनि संजनालाई एक्लै रहन दिदैन्थे l संजनाले चाहेर पनि रामेको बारेमा सोच्न पनि फुर्सद मिल्दैनथ्यो, आखिर संजनाले एक दिन तिनको श्रीमानलाई यी सबै कुरा भनि दिइन् l तिनी रामेलाई आफ्नो हृदय सुम्पी सकेको र रामे बाहेक अरु कसैलाई पनि माया गर्न नसक्ने कुरा सुनाए तर उल्टै तिनको श्रीमान सहानुभूति देखाउनु सट्टा कडा रुपमा प्रकट भए l पुराना कुरा सबै बिर्सी देउ अब नया संसार तिमी र मैले कोर्नु पर्छ, यो तिनको श्रीमानको भनाइ थियो l एक त संजना राम्री भर्खर कि केटी थिइन्, अर्को तिर तिनको श्रीमान ८/१० बर्ष जेठा थिए, तिनका श्रीमान कुनै हालतमा संजनालाई छोड्ने मनशायमा थिएनन् l

रामेको यो चर्तीकला गाँउमा स्कुल तिर जताततै फैलियो, कोही बिचरा भन्थे, कोही ठिक पर्यो बाहुनको छोरी ताक्नेलाई यस्तै हुन्छ भन्थे l उता संजनाको हाल पनि उस्तै थियो, तन मन सुम्पेको आफ्नो प्राण प्यारो रामेको त्यो हालत सुन्दै थिइन् गाँउलेको मुखबाट l
तिज पर्वको मौका पारेर संजना माइती आईन्, आएको भोलिपल्ट सामाजिक बन्धन, परिवारको भावना अनि पुरातनवादी सोचलाई प्रतिरोध गर्दै रामे र संजना गाउँबाट काठमाडौँ तिर टाप कसे l पहिला मन्दिरमा खाएको बाचा कसम, संगै बाच्ने, संगै मर्ने काम पुरा गरे l


बुद्ध चेम्जोंग
राजारानी १ धनकुटा
हाल: न्युयोर्क अमेरिका
अप्रिल २०१०

0 लेखक लाई प्रतिकृया यहाँ:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin