katha

कथा


:- टुकुचा, मुसो र मुरलीवाला
 मध्य युग तिर जर्मन, सैक्सनीमा प्रचलित किंवदंती अनुसार  हेमेलेन शहर निवासीहरुलाई मुसाहरुले साह्रै दुख दिएका थिए । खेत बारीका आन्न पात नष्ट गर्दै सडक, खाना खजाना ढिकुटी लगायतका ठाँउमा मुसाको सासन थियो । केटाकेटी सर्वसाधारण हैरान थिए । हुँदा हुँदा घर भरी जता ततै, ओछ्यान र लगाउने लुगा कपडा  कोटका गोजीमा समेत मुसाहरु ब्याप्त थिए । मुसाको बिगबिगीका कारण शहर विपत्तिपूर्ण अवस्थामा थियो । मान्छेका अमन चयन लुटिएका थिए । यो महामारीको समाधान खोज्ने क्रममा एउटा बहुरंगी भेषमा देखापरेको 'मुरलीवाला'ले आफ्नो चमत्कारी धुन बजाउदै सारा छुद्र मुसाहरुलाई वैज नदीमा लगेर बगाइदिएको थियो । इत्यादी,,,,,,

त्यसको झन्डै साडे सात सय वर्ष यता एकाइसौं शतकमा आइपुग्दा पनि हामी कहाँ सामाजिक र राजनीतिक रुपले जनतालाई हैरान बनाउने भद्र मुसाहरुहरुको उस्तै बिगबिगी देखिन्छ ! एकथरी लोकतन्त्रका हिमायतीहरु कतै बिद्रोह, कतै धम्कीको भाषा बोलेर देशमा बिद्यमान परिस्थितीलाई झन चर्काउदै लादै छ्न भने अर्कातिर नेपाल हिन्दु राष्ट्र हुनुपर्ने माग सहितको रथारोहण, पूजा अर्चना हुदै आएका छ्न । जिम्मेवार ब्यक्त्तीहरुबाट नै यस्ता विभिन्न अभिव्यक्ति आउनु र ताना-तान, हाना-हानका जात्रा रुपी घटनाक्रमले लोकतन्त्रको भविष्यमाथि आम चिन्ता- शंका हुनु स्वभाविक नै छ । यस्ता खराब र मै मात्र हुँ भन्ने हठी प्रवृत्ति (हेमेलेनको बिकराल समस्या मुसा भए जस्तै) लाई कुनै चमत्कारी मुरलीवालेको धुनले स्वात्तै बगाउन पाए वाह !! कति सुन्दर शान्त अनि सम्पन्न हुन्थ्यो होला हाम्रो देश  नेपाल !!


कथा अब सुरु हुन्छ ।
टुकुचा, मुसो र मुरलीवाला
घाम डुब्नु अघिको हतारो चटारो बोकेर पुतली सडक बगिरहेको थियो आफ्नै तालमा । म घर जाउ कि कतै जाउको ह्याम्लेट सिन्ड्रोमबाट दोधार भैरहदा एकै क्षण टुकुचाको पुलमाथि उभिन पुगे । सानो पुल मुनि शहरका सारा गन्धको सास्ती खेपेर मुस्किलले बग्दै गरेको टुकुचा खोलोको(!?) गंध ग्रहणले मेरो नाक अष्ट बक्र जस्तै भयो । खोलाको धर्म रित्तिएर मुस्किलले बगिरहेको त्यहि कालो पानीमा भर्खरै चार तले घरको कुनै झ्यालबाट फु'''''त्त फालेको फोहोरको पोकोसंग केहि भुस्या कुकुरहरु लड्डी खेलिरहेछ्न । त्यहाँ त्यसरी नै फालेका र बग्न नसकेका थुप्रै फोहोरका पोकाहरु नजिकै रहेको प्राज्ञिक प्रतिष्ठान सम्म दुर्गन्ध फैलाउन सफल भएका छ्न ।  अनि धुलो, धुँवा र दगुर्ने साधनका अनियन्त्रीत ध्वनिले पुतली सडक, टुकुचा आस पासको वातावरण वास्तवमै कुनै विपतकालिन क्षण जस्तै लाग्छ ।


यसै बीच पुलको एक कुनामा फोहोर र प्लास्टिकको झोला भित्र केहि सानो प्राणी चटपटाएको भान हुन्छ । नियाल्छु, त्यहाँ एउटा डुहुरे मुसो जीवन मृत्युको दोसाँधमा छटपट्टीरहेको थियो । उसको शरीर शिथिल थियो । सधैं जस्तो अन्य प्राणीबाट सरपट ठोक्न सक्ने तागत थिएन उसमा । उ निरिह बनेर मृत्यु पर्खिरहेको थियो । त्यहि बेला कुदिरहेको मोटर बाइकको चक्काबाट एउटा ढुङ्गा बतासिएर मुसाको छेउ हुदै टुकुचामा खस्छ । मुसाले कुनै प्रतिक्रिया जनाउदैन । मृत्युको अन्तिम सास फेरिरहेको बेला त्यस्ता धक्काहरुले सायद असर नगरेको हुन सक्छ उसलाई !
कतै चोट नलागेको त्यो मुसालाई पक्कै पनि कसैले विष खुवाएर मरो भन्ने भानमा फालेको हुनुपर्दछ । जिज्ञासाका साथ छेउमा बसेर छाम्छु शरीर, अझै तातो छ, चल्दै छ उसको ढुकढुकी । मानव स्पर्शको अनुभुत गरे पछि उसले साउती मार्यो र भन्यो:-

" मेरो सानो यो पेटको खातिर मैले तिमीहरुका अन्न खाए हुँला, निजी - सरकारी बैंकका ढिकुटीमा पसेर मनोमानी उपद्रो पनि गरे हुँला, सिंहदरवार जता ततै गुड बनाए होला, अगणित बच्चा हुर्काए होला । सीमाना वारि-पारी सुरुङ्ग खोलेर तथाकथित मेलोमेसो पनि गरे हुँला ! मलाई देखेर  सर्वसाधारण, केटाकेटीहरु भयभीत, अनि अशुरक्षित पनि भए होलान तर मैले के अपराध गरे? के विराए त्यस्तो जुन तिमी मनुष्यहरुले गरेका छैनौं !  भन त?
तिमीहरुले जे गर्यौ, जे गरिरहेका छौं त्यसै गर्दा मलाई विष दियौं "!
वास यत्ती बोल्यो घाइते मुसो !!
मुसाको क्रन्दनले म अलमलिए । के सहि के झुटो ! बिना जबाफ उभिए र नियाले वरिपरी, सुर्यास्त संगै रंगीन हुदै गैइरहेको छ पुतली सडकको परिवेश । आफ्नै सरोकार, राग अनुरागमा लिप्त छन मान्छेहरु । सडकको पल्लो पट्टी रहेको 'भुँइ रेष्टुराँ तथा वार'मा तरुनीका अट्टोहाँस र कालो पदार्थ खाएको मान्छेको बैस उत्तिकै मात्तिएको सुनिन्छ । गाँउमा जस्तो किलोमिटर टाडा देखि कसैको आवाज सुनेर भुक्ने कुनै भोटे कुकुरको भुक भुक भुक भुक आवाज सुनिदैन यहाँ । शहर निस्फिक्री छ दिन दहाडै मातेर । साँडा बाँचेर !

  पुन एकपट मुसामा नजर लगाए, उहि विलौनाको आवृत्ति भयो मस्तिष्कमा । लाग्यो यदि हामी कहाँ पनि हेमेलेनको जस्तै जादु गर्ने मुरलीवाला हुँदो हो त उसको चमत्कारी धुनमा यी खराब प्रवृत्तिका मानव मुसाहरुलाई, आरोप प्रत्यारोपका बखेडियाहरुलाई कतै बागाई दिनु हुन्थ्यो ! र महामारीबाट मुक्तिको सास फेरेको हेमेलेन शहर जस्तै हामी कहाँ पनि राष्ट्रीय चेतना सहित सगौरव उल्लासमय बाँच्न पाइन्थो कि !! मंत्रमुग्ध पार्ने त्यो चमत्कारी धुन, ( सायद त्यो बीन बाजा जस्तै जस्तै हुनुपर्छ, केहि फरक मिश्रणमा )  अनि खोजिरहेछु मुरलीवा'ला, खै कहाँ हुन सक्ला र त्यो?!
कुराले भाँड भैलो मच्चाईरहदा पुन एक सभ्य नागरिकले तिन तला माथिको कुनै झ्याल उघारेर यताउता पल्याक पुलुक हेर्यो अनि उस्तै फोहोरको पोको टुकुचामा हुत्यायो र हत्तपत्त बन्द गरो फग्ल्याटो ! यो पटक त्यो फोहोरको पोको त्यहि घायल मुसामाथि बजारिन्छ र संग सँगै खस्दछ टुकुचामा ।


उत्सव नेपाल
सिक्तेल भोजपुर
हाल: क्याणडा




0 लेखक लाई प्रतिकृया यहाँ:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin