katha

निबन्ध

बोर्डर प्रेमबृक्ष
घाम लाग्दा छायाँ लागेर पसिना ओबाउने ठाऊँ पानी पर्दा आकाश ओताउने ठाऊँ । मूलबाटोको किनार । धेरैले एकै छिन भए पनि अडिन मन पराउने ठाऊँ एउटा गतिलो रुख र निकै परसम्म फैलिएका पत्करिला हाँगाहरु । वरिपरि सिरिश फुलेका निलाम्य जंगललाई त्यो एउटा सिंगो रुखले यसरी माथ खुवाइरहेछ । म कहिलेकाही रुखको जरा टेकेर ऊँभो हेर्छु र सोच्दछु त्यसको हाँगामा बसेर हुइँ हुइँ खेल्नुको गजबता पखेटा हालेर आकाशमा उड्नुको भन्दा सायदै कमको हुँदो हो ।

फराकिलो घाँसे चौरको वीचमा सिंगो रुख । उत्तर-दक्षिण पूर्व-पश्चिम चारै दिशाको हावाले ललकार्छ रुखलाई । हाँगा भूईँ छुन खोज्छ तर भाँचिदैन । हुण्डरी असिना बर्खे झरी सबै सहेरै होला त्यसका हाँगाहरु पोषणयुक्त देखिन्छन् । पुस माघको ठीही र पातभरि जम्ने तुषारोले रुखलाई कक्रक्क बन्न सघाएको होला । हिउँदभरिको फुई बोक्रामा टाँसिन्छ । प्राकृतिक प्रतिकुलताले पिटेर बलिष्ठ बनेको रुखदेखि चट्याङ्ग डराएरै त्यसमाथि नचट्केको हुनसक्छ ।

किन यस्तो प्रिय बन्यो यो रुख रुखलाई देख्ने जतिले यसको उपयोग गरे होलान् तर यही प्रश्न सायदै कसैले आफुलाई सोधको हुनुपर्छ । केटाकेटीदेखि बुढाबुढी सबै त्यै रुखको काख मन पराउँछन् । बच्चाबच्चीहरु विहानैदेखि एकले अर्कालाई वरिपरि लखेट्नु र हाँगा-हाँगामा उफ्रेर बाँदरे खेल खेल्नु खुब रमाइलो मान्छन् । दुइ तीन आमैहरु त्यै रुखको छहारीमा दिनको एघार घण्टा निरन्तर मकै पोल्छन् । खरबुजा र तरबुजा पाङ्ग्रामा ठेल्दै ल्याएर तीन चार आन्टीहरु पनि त्यै शीतलुमा ब्रेक लगाउँछन् । खाजा खानेहरु त्यही वरिपरि हुल बाँधेर बेग्लाबेग्लै झुण्डमा छुट्टिन्छन् । क्या मजा !! घाँसे मैदानमा पलेटी कस्नुको पाहुना लाग्दा वा ससुरालीमा सालीमा गुण्टा ओछ्याइदिए जस्तो । मान्छे यस्तै अनुभूति गर्छन् । मान्छेहरु त्यहाँ बसेपछि आफ्नो समयभन्दा अगाडि उठ्ने मन गर्दैनन् । रुख मोहनीयुक्त छ ।

बिहान-बिहान उठेर जीऊ गलाउन क्रध्नेहरु पनि उभिएर उभिएको रुखको तिघ्रालाई एक हातले टेकेर स्वाँ-स्वाँ र फ्याँ-फ्याँ गर्छन् । कुध्न नसक्ने र बोसो लागेका उमेर खाकाहरु जोर जुत्ता बेग्लाबेग्लै हातले समाएर नाङ्गो खुट्टा त्यै रुख मुनि परेको शीतमा हिडाऊँछन् । रुख तीन घुम्तीको छेवैमा छ । धेरैले रुखलाई संगम बनाएका छन् । भेट्दा त्यै रुख सम्मुख धेरैले हात जुधाउँछन् र छुट्दा रुखको आँगनैबाट हात हल्लाउँछन् । रातोदिन ओथारो बसेर आफ्नो भुईलाई पानी र घामबाट छोप्नु रुखको निर्विकल्प र अजीवको काम हो जहाँ दिनभरमा खाल खालका जन्तुहरु शरण पर्छन् । गुनिलो रुखले दिनहुँ आफ्नो गुनमा गजक्क मानेको हुनुपर्छ । तर बैगुनीहरु एक अर्काको बद्ख्वाईं गर्न गुण्डागर्दीका योजना गर्न र घमण्डी र पाखण्डीहरुको समेत चौतारी आफु बन्नुपर्दा रुखले आफुलाई रुख हुनुमा तिक्तता भेटाएको हुनुपर्छ जिउनुमा ।

बेलुकी भएपछि फेरि अर्कै थरीको साक्षी बस्नुपर्छ रुखले । उज्यालोको डल्लो डाँडापारी नपुग्दै लहरै शिक्षित मान्छेहरु रुखको आड लागेर सु गर्छन् । मान्छे हुनुमा आफैसँग समेत लाज पचाएकाहरु त्यहाँ गु गर्न पनि बेर लाउँदैनन् । साँझ मोटरमा थुप्रै जोडीहरु हुईंकिएर त्यहाँ आउँछन् । वर पर देखि लठारिदैं र मठारिदै उन्मत्त जोडीहरु त्यही छेऊमा एकअर्कामा बाँधिन आउँछन् र एकले अर्काको ओठ चुस्न अभ्यस्त बन्छन् । त्यहाँ यौवनको उन्माद पोखाउन पनि केही जोडी पछि पर्दैनन् । राती भने फिरन्ता कुकुर र चौपाया एकले अर्काको काँधमा काँध जुवा हालेर फेदलाई घेरा हाली रात कटाउँछन् । रुखको सेरोफेरो धेरै थरीकाहरुको धेरै खाले गन्तब्य बनेको छ ।

त्यो कपुरको रुख हो र त्रिभुवन विश्वविद्यालयको कन्या र पुरुष छात्राबास छिर्ने बेग्लाबेग्लै फराकिला बाटोहरुको छुट्टिने दोभानको रुख हो । अहिले म सरेको डेराको झ्यालबाट बाहिर घाँटी निकाल्दा त्यो रुखको फुर्को निकै पर देखिन्छ । हावा चल्दा फुर्कोको फुर्को बनेका कौवा र कौवा आकारका मझौला चराहरु हल्लिरहेका हुन्छन् । रुखको फुर्को पारी काठमाँडौको पूरा आधा शहर देखिन्छ । झ्यालमा म कहिलेकाही हत्केलामा चिउँडो अड्याउँछु त्यो प्रिय रुख र त्यो वाक्कलाग्दो शहरको के नातो छु त्यो शहरको कार्बन खाएर बाँचेको रुख हो र झ्यालबाट देखिने नाङ्गो शहरलाई आधा छेकेर आँखालाई शीतल गराएको छ । म ओहोरदोहोर गर्दा त्यो रुख भएर हिड्ने गर्छु । कुनै दिन त्यसका जरा र हाँगाहरुमा बाचरो पर्नेछ । म सोच्ने गर्छु अनि त्यो आसपासको घाँसे चौरको सौन्दर्य गल्र्याम्म ढल्नेछ र धेरैको गन्तव्यमा पहिरो जानेछ । त्यसो भएको दिनदेखि झ्यालमा मान्छेले विरलै टाउको निकाल्लान् किनकि नाङ्गो शहर हेर्न कसैलाई मन हुँदैन ।

रुख । संसारमा मान्छे नभएको भए कस्तो हुन्थ्यो होला रुखै रुख हुन्थ्यो होला । तर रुख नभएको भए के हुन्थ्यो होला कल्पना ज्यादै मिठो हुन्छ । त्यो देखिने कपुरको रुखलाई अचेल धेरैले प्रेमबृक्ष भन्न थालेका छन् । योगा गर्नुपर यो भने वा खेल अभ्यास गर्नुपर् यो भने प्रेमवृक्षसँगैको मैदान भनेर सूचना टाँस्न थालेका छन् । कसैको भेटघाटको लागि त प्रेमवृक्ष सबैको साझा विन्दु नै बनेको छ । कहिलेकाही म रुखको जरा चिमोटेर घोरिन थालेको छु मान्छे कहिल्यै रुख बन्न सकेन र रुख मान्छे जस्तो अविवेकी बन्न कहिल्यै चाहदैन । मान्छेले रुखको गुन कहिल्यै सिक्न चाहेन र जानेन । निर्बलिया माग्नेलाई लु खा ! भनेर हातमा हिर्काएर हिड्छन् मान्छे । मसिना र निर्धन लाग्नेलाई हकारेर र बटारेर नाडी फुलाएको दम्भ गरिहिड्छन् मान्छे । कसैलाई ओताउन र छहारी दिन मान्छेको मगजशास्त्रमा लेखिएको छैन । मान्छे र शहर रुखझैं हरियो हुन कहिल्यै जानेनन् ।

बाटो र चौबाटोको थुप्रै रुखहरु गिडेर शहरमा मान्छेले बार्दलीमा सुन्दरताको लागि सिउँडी रोपेका छन् । कपुरको रुख काटेर काग धपाउन धुरीमा फिरफिरे बनाएका छन् । मान्छे र तिनका बस्तीहरु कति उन्नत छन् । बाग्मती किनारमा नाक थुनेर घरहरु उभिएका छन ।

निराजन बातास, भोजपुर
हाल: काठमाण्डौ

0 लेखक लाई प्रतिकृया यहाँ:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin