katha

संस्मरण

खम्बु वदेबा अनि हाम्रो कथुरे गोरु ...!!

मलाई याद भए अनुसार यस्तै ४३,४४ साल तिर हुनुपर्छ, हाम्रो कथुरे गोरु (खरानी रंगको फुस्रो भएकोले कथुरे नाम दिएको रे आमाले) खम्बु वदेबा अहिले अप्रभंस भै खम्देबा भनिने ठाउँबाट हिउदको अन्तिम फागुन तिर राजारानी नागी घर आउने क्रममा पछ्युंग खोला नजिकै बीच बाटोमा अर्काको गोरुसंग जुद्धा सागुरो ठाउमा खुट्टाको ब्यालेन्स नमिलेर कथुरे गोरु भिरबाट खसेर मर्यो l मंग्सिर भित्र बाझो जोति सकेपछि पुष, माघ महिना जाडो छल्न हामी खम्देवामा बाख्रा, गाइ गोरु सबै लगेर उतै गोठ बस्ने गर्थ्यौ, त्यो खम्देवा अनि बेसी जस्तो न्यानो थियो l

त्यो बेला हामी सपरिवारमा गहिरो मानसिक आघात पर्यो, फागुनको समय अब मकै छर्ने बेलामा कथुरे गोरु मरे पछि हल गोरु भएन, भएको अर्को मुली बुढो गोरु कालुवा मात्र रहन पुग्यो, कालुवा हल्का कालो अनि प्याजी रंगको थियो/ कथुरे गोरु एक अभिन्न परिवार जस्तै हाम्रो शान थियो त्यो बेला, पुरा राजारानी गाउ भरीमा, उ एउटा साढे राजा थियो, चैत्र बैसाखमा बाझो खेतमा चराउने बेलामा, हामी गाउको मान्छेहरु कसको गोरु बलियो भनेर एक अर्काको गोरु जुधाउथ्यौ l उसको अगाडी अरु गोरुहरुको जोर चलेन, जनावरमा पनि हामी मानिस जस्तै आइमाई आफ्नो काबुमा राख्ने आट बल हुने रहेछ, हाम्रो कथुरे गोरुलाई पनि अरु गाउका गाइहरुलाइ खेतमा घास चर्ने बेलामा चाट्ने, संगै चर्ने गर्थ्यो l तर कथुरे जति सुकै बलियो भए पनि अनुशासित थियो, त्यो बेला मेरो उमेर भन्दा जेठो गोरु कालुवा नै मुली थियो, हाम्रो गाइ गोरुको बथानमा l कालुवा ३२ साल तिर किनेर ल्याएको कुरा आमा गर्नु हुन्थ्यो, कालान्तरमा ५४ साल तिर मर्यो क्यारे तर हलो जोत्ने काम चाही ५० साल पछाडी त्यति सकेन, तर कालुवाले धेरै अरु गोरुलाई जुवा बोकेर हलो जोत्नलाई सदायो अर्थात् अरु बहर गोरुलाई दायो सिकायो उसको जीवन कालमा l बारी जोत्ने बेला होस् या अरु बेला पनि कालुवाले तह लगाउथ्यो कथुरे गोरुलाइ, कालुवाले यसो सिंगले हान्न खोजे पछि कथुरे गोरु चुपचाप पछाडी हटथ्यो या अर्को ठाउँ तिर लाग्थ्यो l कालुवा बुढो भएर मरे पछि उसलाई बाधेर राखेको ठाउमा नै खाल्डो खनेर संम्मानका साथ अन्त्यस्ती गरायौ भनेर बुवा आमा भन्नुहुन्थ्यो, म त्यो बेला काठमाडौँ नै जागिर गर्दै,पढ्दै थिए /

त्यो बेला कृषि मेला लाग्थ्यो सालमा एक चोटी, गाउको भए भरको गाइ गोरु बाख्रा, भैसी, भाले कुनै पनि ठुलो राम्रो चिजको प्रदर्शन गर्नु पर्थ्यो l गाउको सब भन्दा बलियो राम्रो साढे गोरुलाइ पुरस्कृत गर्ने चलन थियो, एक पटक कथुरे गोरुले पनि पुरुस्कार पायो रे भनेर आमा बुवाले भन्नु भएको मेरो मानस पटलमा छदै छ l हुन त कथुरे गोरुले मात्र होइन कथुरे जन्माउने गाइ कालीले पनि एक पटक धेरै दुध दिने भनेर कृषि मेलामा पुरुस्कार जितेको कुरा आमा बुवा भन्नु हुन्थ्यो l

प्रसंग कथुरे गोरु,कालुवा गोरु भए पनि यहाँ म लिम्बुहरुको पुरानो नामकरण ठाउँहरु कसरी अप्रभंस भै यो अवस्था सम्म आए भन्ने कुरालाइ पनि उठाउने जमर्को गरेको छु l राजारानी नागी देखि खम्देबा पुग्नलाई झन्डै १ घण्टा लाग्छ यी बीचमा बाटोमा पर्ने टोलहरुको नाम अझ पनि लिम्बु भाषामा नै प्रचलनमा छ l त्यो बाटो सिंगगेम्बा, सिर्गोग्मा अनि खदम टोलको माथि हुदै पछ्युंग खोला हुदै खम्देबा पुगिन्छ l

नागी = नांग को अर्थ लिम्बु भाषामा तुसारो, नागी त्यो बेलामा पुरा फाट थियो घर थिएन, त्यसैले तुसारो परेको सेताम्मे देखिन्थ्यो l त्यसैले तुसारो अलि बढी पर्ने ठाउँ भएकोले कालान्तरमा नागी भनियो भनेर आदरणीय डम्बर चेम्जोंगले उहाको आदिबासी लेखमा उल्लेख गरि सक्नु भएको छ l अर्को तिर उहिले नै नागा जातिहरु यहा बसेकोले पनि नागी भनियो, भनेर कसैकसैले भन्छन तर त्यस्तो कुनै अवशेष देखिदैन l

सिंग गेम्बा = लिम्बु भाषामा, सिंग- रुख, केम्बा - लामो, सिंग केम्बा अप्रभंस भै सिंग गेम्बा हुन गयो, यो कुरा आदरणीय डम्बर चेम्जोंगले उहाको आदिबासी लेखमा जनाई सक्नु भएको छ l

सिर्गोग्मा = यो डांडाको नाममा कुरा बाझिएको छ, सिर सिर मदेशको तातो हावा पहिले यो डांडामा आउने भएकोले सिरकोकमा भनिएको हुन सक्छ l कोकमा को अर्थ डांडा हो, अर्को हुन सक्छ मदेश मोरंग केराबारी देखि खदम खोलाको शिर भएकोले, शिर कोकमा चाही अप्रभंस भै सिर्गोग्मा हुन गयो होला भन्ने अनुमान छ l

खदम = लिम्बु भाषामा अध्यारो, खदम टोल कुनै बेला यो पुरा जंगलले ढाकिएको अध्यारो ठाउ भएकोले खदम भनिएको प्रष्ट छ l

पछ्युंग खोला = पछे - लिम्बु भाषामा निभारो, बुंग को अर्थ बोट अर्थात् पछे बुंग, निभारा बोट - कुनै बेला यहाँ पुरा निभाराको बोटहरु भएकोले पछे बुंग भनिएको रहेछ तर अहिले मानिसहरुले घास काटेर गाइ बस्तुलाई खुवाउन थाले पछि कमै मात्र पाइन्छ आज भोलि l त्यहा साम्लो लुंगधुंग डांडाको उतर पट्टि जमिनबाट उम्म्रेर आएको पानी बग्दै आएर सानो खोलामा परिणत भएको छ र यो खदम खोलामा मिसिन्छ l

ज्ञात रहोस बोधे र बुधुक गा.बि.स. अनि राजारानी नागीमा पिउने पानी यहि पछे बुंग खोलाबाट ल्याईएको हो l

खम्देबा = खम्बु, राइको एक पाचा, वदेबा को अर्थ बगाउनु - यो ठाउमा ३/४ सय बर्ष पहिले खम्बु राइहरु बस्थे रे, सावनको अविरल बर्षाले साम्लो लुंग धुंगको पश्चिम त्यो पश्चिम तिरको भाग पहिरो गइ सबैलाइ बगाएर मरेछन, यहि खम्बु वदेबा अप्रबंस भै खम्देबा भएको भनेर बुढा पाकाहरु भन्छन l

म सानो छदा खम्देबा ओहर दोहर गरेको, बिहान नै ४,५ बजे उठेर हिडेको दाजुहरुलाई चामल खम्देबा पुर्याएको, गोठमा रात भरी आगो बालेर बसेको, दिनभरी खर काटेको, कहिले कहिँ पछे बुंग खोलामा पाहा मारेर ल्याएर खाएको र हिउदको माघे संकरान्ति तिर बन तरुल खनेर २,३ डोको बनाएको सम्झन्छु l हामी संगैको अर्को गोठमा काका पर्नेको मान्छे हान्ने गोरुको डर अनि जोगिन्दै हिडेको, भागेको सम्झना अनि गोगुन फुलेर पाकेको गेडा टिपी खाने बेलामा मेरो कान्छी दिदि लडेर निधार अलि माथि लागेको चोट अझ पनि झलझली याद आउछ l अनि सिंगगेम्बामा टोक्ने कुकुरहरुको डरले लाठी सधै हातमा लिएर हिडेको, त्यो बेला खम्देबा देखि घास, दाउरा अनि खर बोकेर नागी घर सम्म ल्याएको, अहिलेको यो आधुनिक बिकाश संगै म त्यो प्यारो जन्म भूमिलाई छोडेर टाढा भएकोले आज तुलना गर्दा सपना जस्तै लाग्छ l

मेरो बाल्यकाल अनि दश क्लास सम्मको पढाई पुरा गरिन्जेल सम्म यहि ठाउँमा खेल्दै रमाउदै अनि खेति किसानी गरि बसेकोले, यो गाउ ठाउ मेरो अबिस्मरिय छ अनि म आफै त्यो पुरातात्विक किराती लिम्बु लाजेमा जन्मन पाएकोमा गौरम्बित अनुभब गर्छु l

:बुद्ध चेम्जोंग
राजारानी- १ नागी, धनकुटा,
हाल : न्युयोर्क अमेरिका

0 लेखक लाई प्रतिकृया यहाँ:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin