katha

किराँती लोक कथा (सुम्निमा र पारुहाङ्)


हिमालयको सृजनापछि भगवानका अगाडि एउटा नयाँ समस्या उपस्थित भयो । हिमालय त्यति विस्तृत्, उच्च औ सुन्दर भए तापनि त्यसको उपयोग गर्ने तथा अन्य कुनै जिवात्मासँग त्यसको सम्बन्ध स्थापित गर्ने त्यहाँ कुनै ब्यक्ति थिएन । तसर्थ भगवानले त्यस विपुल हिमपुन्जमा बोखोपी नाम गरेको एक्जना मानिसको सृष्टि गरे र साथै सन्तसुरुख नाम गरेकी उस्की स्त्रीको पनि ।
बोखोपी र सन्तसुरुखको दाम्पत्य जीवनका सिलसिलामा एउटी छोरीले जन्म पाई । उनको नाम रह्यो सुम्निमा । उ बृन्दाबनमा बस्तथी । आफुलायक कुनै जीवन नभएको त्यस प्राय: एकान्त औ निर्जन स्थानमा सुम्निमा केवल पंक्षीहरुसँग हिड्डुल गर्दथी, तिनीहरु नै उसका साथीसंगी थिए । उ आफ्न ती साथीहरुको भाषा बुझ्दथी, तिनीहरुसँग उ कुराकानी पनि गर्दथी । एकमात्र प्रकृतिको संसर्गमा हुर्केकी सुम्निमा सुस्तरि-सुस्तरी युवती भै । तैपनि उ केवल चरा-चुरुङ्गीहरुसँग यो बन- त्यो बन तथा बनको एक छेउदेखि अर्को छेउसम्म घुम्न पाउथी । त्यतिखेर स्वभावत:उसका मनमा कुनै एकपुरुषको सहज इच्छा जागृत हुन्थ्यो तर त्यहाँ कुनै पुरुष थिएन । यसै अभावमा भित्रभित्रै पिल्सीरहेकी सुम्निमाका दृष्टिमा एक दिन एकाएक एक जना पुरुष देखा पर्‍यो । पुरुष आकाशबाट पृथ्वीमा आएर वन-जंगलतिर घुमिरहेको थियो । उ निकै हष्ट्पुष्ट थियो, खुबै आकर्षक्, खुबै लायक । उसको शरीरमात्र देख्नासाथ पनि सुम्निमा उ प्रति मोहित भै । उ थियो पारुहाङ ।

पारुहाङ सुम्निमाका विषयमा केही पनि जान्दैनथ्यो । सुम्निमा आफुप्रति आकर्षित भएको कुरा त के बिचराले उसलाई देखेकोसम्म पनि थिएन । तसर्थ सुम्निमालाई एक्पल्ट आफ्नो अनुहारसम्म पनि देखाएर उ आफ्नो बाटो लाग्यो । सुम्निमाले उ सँग भेट्ने मन गरेकी थिइ तर भाग्यले उसको धोको पुरा हुने मौका दिएन । जे होस् पारुहाङ्को दर्शनको कामना सुम्निमाको मनमा सदा बिझिरहने एक मधुर काँडाँकाइ रुपमा रहिरह्यो । उसले जसरी भएपनि पारुहाङ्सँग सम्पर्क स्थापित गर्न चाहिन, तर कुन उपायले उ सँग भेट हुने हो ?

यो सुम्निमाका लागि एउटा समस्या थियो । अन्त्यमा उसले आफ्ना साथीहरुसँग सल्लाह मागी ।
चराहरुले भने : "पारुहाङ्को घर आकाशमा छ । उ हावाबाट आउछ र हावाबाटै माथि जान्छ ।" साथीहरुले सुम्निमालाई आशा देखाए- "हावासँग कुरा गर्न सक्छ्यौ भने उसैमार्फत समाचार पठाउदा पारुहाङकहाँ पुग्छ ।" प्रकृति- पुत्रीजस्ती सुम्निमा हावासँग पनि कुरा गर्न सक्दथी । साथीहरुले दिएको उपाय सुन्नुमात्र थियो उसले तत्काल अनुरोधपूर्वक हावालाई आफ्नो कामामा लगाइहाली ।

हावाले तुरुन्तै पारुहाङ्कहाँ गएर उ सँग पृथ्बीका एउटी तरुनी सुम्निमा उ सित विवाह गर्न चाहन्छे भन्ने खबर पुर्‍याइदियो। यो कुरा सुनेर पारुहाङ अत्यन्तै खुशी भयो र आफुलाई एउटी सुन्दरीको वर बनाइन पाइने हर्षमा हावा सँगसँगै पृथ्बीमा ओर्ल्यो । पृथिबीमा पुग्नासाथ उ सरासर सुम्निमा बसेको ओढारमा गयो ।

तर अफशोस काम कुरो मिल्न सकेन । सुम्निमा जत्ति सुन्दर थिई, पारुहाङ उतिकै कुरुप थियो । केवल शरीरको गठन देखेर आकर्षित भएका सुम्निमाकालागि पारुहाङ्को च्यप्तो, कालो र सासाना आँखाहरुले रुप बिगारेको अनुहार एक किसिमको धोखा साबित भयो । पारुहाङ्लाई देखेर सुम्निमाका हृदयमा प्रेमको बद्ला सहसा भय उत्पन्न भयो । बिचरी उसका सामुमा उभिनसम्म पनि सकिन र भागेर गै ।

अर्कातिर उस्तै पारुहाङ्लाई पनि नराम्रो चोट पर्‍यो । विवाहको सुखद लालचमा आकाशबाट ओर्लिने भएको विचारो फुस्सामा पर्ने देखियो । उसलाई एकतिर घोर लज्जाको अनुभव भयो भने अर्कोतिर उसको पौरुषत्वप्रति यो एक प्रकारको सार्है ठुलो अपमान पनि थियो । अपमानित पारुहाङ्ले हावालाई भन्यो: "तिमीले गर्दा सुम्निमासँग विवाह गर्न भनेर म पृथ्बीसम्म आएँ, सुम्निमा भने मेरो अगाडिसम्म पनि पर्दिन्! कस्तो सरमलाग्दो कुरो हो! तर म पनि आफुले सकेको नगरी त कहाँ छाड्छु र !" यती भनेर आहत -अपमानित पारुहाङ्ले गएर सुम्निमा बस्ने जंगलको प्राय जम्मै पानी सुकाइदियो । तरल पदार्थ नाममा केवल एउटा कर्कलाको पातमा विशेष प्रकारले अलिकतिमात्र शेष राखेर उ आकाशमा उडेर गयो ।

पिउने पानी नपाएपछि जंगलका सबै प्राणिहरु तिर्खाले सताइन थाले । सुम्निमा पनि हर्हर भैइ । उसले यताउतिका सारा खोल्सा-खोल्सिहरुमा गएर आफ्नो प्यास् मेट्न खोजी तर कतै एक थोपा पनि पानी थिएन । उसले आफ्ना साथीहरु- न्याउली, कुथुर्के,लाहाँचे, चँचार, भ्याकुरो, चिबे,जुरेलि,ढुक्कुर्,हलेसो,च्याखुर,प्युरा आदिलाई पानी खोज्न पठाई । लाहँचेले रुखको टोड्कामा अलिकति पानी भेट्टायो तर आफै तिर्खाले हर्हर भैरहेको त्यस बिचारोले त्यती पानी आफै तिर्खा मेट्न खाइदियो । चिबेले कर्कलाको पातमा अलिकति पानी भेट्टायो । उसले चाँही इमानदारी साथ त्यो पानी सुम्निमलाई ल्याइदियो । तिर्खाले साह्रै आतुर भैरहेकी सुम्निमाले पानी भेट्टाउनसाथ आँखा चिम्लेर पिईहाली ।

सुम्निमा बिचरी त्यो पानी पिएको महिना दिनपछि नै थला परी । यस बिमारीले एउटा अनौठो कुरा हुन गयो । सुम्निमा के कारणले बिरामी भैछ भनेर चुइयाँ, बगेरो, लाटोकोसेराहरुले जोखाना हेर्दा कर्कलाको पातको पानी खास पानी नभै पारुहाङ्ले टुना गरी छोडेको एक प्रकारको ओखती पो रहेछ र यसैको प्रभावले गर्दा पो बिचरी बिमारी भएकी रहिछ भन्ने पत्ता लाग्यो । अब के गरे सन्चो हुन्छ? भनेर सोच्दा सुम्निमाका साथीहरुले भने- "स्वय पारुहाङ्लाई झिकाएको उसैले औषधी -उपचार गरेमात्र सन्चो हुन सक्दछ" साथीहरुको सल्लाह अनुसार बिचरी सुम्निमालाई फेरी एकपल्ट हावालाई बोलाएर पारुहाङ्लाई झिकाउन करै लाग्यो । सुम्निमाको सौन्दर्य आकर्षित तथा उसको व्यबहारले अपमानित पारुहाङ पनि यही दाउ पर्खेर बसेको थियो । हावाद्बारा समाचार पाउनसाथ उ पृथ्बिमा ओर्लिहाल्यो । साथै उसले जडि-बुटीको उपचारद्बारा सुम्निमालाई निको पनि पारीदियो । गुण लाएकाले सुम्निमाले पारुहाङ्लाई आफ्नो पति मानी ।

सुम्निमाले एकैचोटीमा पाँचवाट छोराहरु जन्माई । बच्चाहरु पनि अनौठै भए- जेठो बाघ् (किवा ), माहिलो मानिस्(हेन्कम्बु) साहिलो भालु, काहिलो चितुवा र कान्छो कुकुर ।
आकाशनिवासी पारुहाङ आकाशमै फर्किसकेको थियो, सुम्निमा पनि अब एकलाई थिईन । उ आफ्ना पाँच भाइ छोराहरुका साथ आन्दपूर्वक बसी ।

कथा: स्वर्गिय इमानसिंह् चेम्जोङको पुस्तक बाट

1 comment:

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin