katha

कथा

कस्ले भन्छ ?,,,,,,,,,,,
विहानको ६ वजेको छ यतिखेर सउदी अरबमा । म ड्यूटीमा आइसकेको छु । म सउदी अरेबियाको राजधानी रियादस्थित ताहालिया सडकमा कादी रेष्टुरेन्ट एण्ड क्याफेमा दिउँसोको सिफ्टमा वेटरको काम गर्दैछु । क्याशिअरले ढोका खोल्छ । म क्याशिअर अनि किचनको सेफ दाइसँगै भित्र छिछौँ । हामी मात्रै ३ जना छौँ दिउँसोको सिफ्टमा काम
गर्ने । प्रचण्ड गर्मीको कारण ग्राहकको संख्या नगन्य छ । मेरो क्याशिअर बिलाल हुसने हो नुवाखली बंगलादेशको अनि सेफ चाहिँ मोहम्मद जान हो दिल्लीको । हामी तीनै जनाका आ-आफ्नै कार्यक्षेत्रहरु छुट्याइएका छन् । म वेटर हुँ सारा सरसफाइ अर्डर सप्लाइ सबै पर्छन् । क्याशिअरको जिम्मामा सेल खरिद बिक्री सामान भए नभएको ख्याल गर्ने काम गर्छन् । सेफको किचनमा चाहिएका सामाग्रीको लिस्ट तयार पार्ने केक सेण्डविचहरु बनाउने । मगाएका सामानहरु आउट अफ डेट भएकि भएनन् हेर्ने ।
क्याफेमा पुग्ने बित्तिकै मेरो काम भनेकै पानी नभए मोटर खोल्ने कुर्सी टेबल बाहिर निकाल्ने । पुछपाछ गर्ने ठाउँ ठाउँमा टिस्यु पेपर राख्ने भुइँमा मोप लगाउने शिशामा धूलो लागेको भए पुछ्ने अनि मात्रै शास फेर्ने मजाले ग्राहक आए सेवामा हाजिरै हुने नआए मजाले एक कप तातो लेमन टी सुरुप्प पार्ने ।
तर आज परिस्थिति बदलिएको छ । म पुग्दा भित्र कतै कल्याङ्गकुलुङ्ग
सुनिन्छ । म किचनबाट बाहिर मोटर भएतिर जाने ढोका खोल्छु । रुवाबासी छ । पानीको ट्याङ्की छेउमा बसेका छन् सबै । आँखाभरि टिलपिल आँसु पारेर बसेकाहरु हेर्दा मलाई कुनै अनिष्टको भान भइसकेको छ । सबैभन्दा ठूलो भनेकै ठूले थियो यो परिवारमा अनि बुने सबैभन्दा सानी प्यारी बुने थिई । सबैले माया गरेर बुने भन्थे उसलाई । मोहम्मद जानकी त कान्छी छोरी नै थिई ऊ । जन्मदा देखिकै प्रत्यक्षदर्शी हो ऊ । कान्छीकी बूढी हजुरआमाको समेत नालीबेली बताउँथ्यो मोहम्मद जानले । मोहम्मद जान हाम्रो कम्पनीको सबैभन्दा पुरानो मान्छे भएकोले पनि ऊ जानिफकार थियो त्यहाँको
परिवेशको ।
मैले ढोका खोल्ने बित्तिकै ठूले र सानी बुने दगुर्दै आए म कहाँ मेरो खुट्टामा मडारिँदै डाँको छोडेर रुन थाले । ठूले आफू धेरै हिम्मतिलो भएर सम्झाउन खोजेछ बुनेलाई । तर बुनेले केही गरी चित्त बुझाइनछ । मलाई देख्ने बित्तिकै अपनत्व महशुस गरेछन् । सम्हाल्न नसकेर डाँको छोडिदिए दुबैले । भित्र दबेर बसेको पीडा आफ्नो मान्छे भेट्दा विष्फोट हुँदो रहेछ ।
म टुक्रुक्क बसेर ठूले र सानी बुनेलाई सुम्सुम्याउँछु मायाले । कस्तो सम्बन्ध हो यो अजिवको । हेर्छु अरु ३ जना केटाहरु आफ्नै संसारमा मस्त ट्याङ्कीको पछि लुकामारी खेल्दैछन् । घरि ट्याङ्कीमा चढ्छन् अनि फाल हाल्छन् । पानीको ट्याङ्की भुइँमा लमतन्न पारेर पेट्रोलको ट्याङ्कर जस्तै राखिएको छ गर्मी हुँदा पानीको फोहोरा फाल्नलाई । सुन्छु गलल्ल हाँसेको केटाहरु । ठूले र सानी नजिकै छँदा त तिनीहरु पनि रुँदै थिए तर अहिले अर्कै दुनियाँमा पुगिसकेका छन् उनीहरु । किन रोई बुने किन रोयो दादा उनीहरुलाई चासो पनि छैन । बुनेलाई सोधेँ मैले के भयो भनेर उसले जवाफ दिनै सकिन । ठूलेले घुँक्क घुँक्क गर्दै जवाफ फर्कायो । हिजो राति नै उनीहरुलाई टुहुरा पारेर पोइला गइ रे आमा अर्कैसँग । अनि जाने बेलामा भनी रे ठूलेलाई ठूले तै होस् मेरो ठूलो छोरो सानी बुने र भाइहरु तेरै जिम्मा लगाएर जाँदैछु । आमाको महशुस हुन नदिएस् है बाबु ! ठूले डाँको छोडेर रुन थाल्यो झन् झन् सानी पनि रुन थाली बेसरी अनि भन्दै थिई -अब म कसलाई आमा भन्नू ?
मसँग पनि उसको प्रश्नको जवाफ थिएन । ऊ जन्मिने बित्तिकै बाउ पनि अर्कै आमा लिएर अन्तै सरेछ । बाउको अनुहार त कसरी थाहा पाओस् बिचरीले आमाले पनि धेरै पर्खिई श्रीमान् फर्केर आउलाकि भनेर तर ऊ कहिल्यै आएन । कतै रियादको कुनै कुनामा बिलीन भयो । त्यसैले उसले पनि एउटा अर्कै खोजिछ ।
हाम्रो क्याफेको कुनामा बस्ने यी प्यारा साथीहरु अरु कोही होइनन् मान्छेले भन्ने गरिएका निरीह पशुहरु तुच्छ बिरालका बच्चाहरु हुन् तर मेरो नजरमा तिनीहरु मेरो जीवनका पर्याय हुन् । जीवन बाँच्ने अजश्र प्रेरणाका स्रोतहरु हुन् । कसले भन्न सक् तिनीहरुमा जीवन छैन भनेर भावना छैन भनेर ?
पुरुषोत्तम गौतम
सन् २००४ मे रियाद
हाल : काठमाण्डू

1 comment:

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin